Nepal Purbadhar

१२६ मेगावाटको तल्लो सेती जलविद्युत् आयोजना निर्माण प्रक्रिया अगाडि बढ्यो, जग्गा अधिग्रहण शुरू

सांकेतिक तस्बीर।


दमौली (तनहुँ। तनहुँमा १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजना निर्माण हुने भएको छ ।

आयोजनाका अनुसार एसियाली विकास बैंकको २२७ मिलियन अमेरिकी डलर लगानी, ३० प्रतिशत स्वपुँजी र ७० प्रतिशत ऋणमार्फत आयोजना निर्माण गर्न लागिएको हो ।

अर्धजलाशययुक्त आयोजनाको बाँध तनहुँको बन्दीपुर गाउँपालिका–६ र देवघाट गाउँपालिका–३ मा पर्नेछ । यस्तै, विद्युत्गृह, कर्मचारी आवास तथा मुख्य सुरुङ देवघाट गाउँपालिका–३ र ४ मा निर्माण गरिने जनाइएको छ ।

आयोजनाले विद्युत्गृह र कर्मचारी आवास निर्माणका लागि आवश्यक करिब १४६ रोपनी जग्गा अधिग्रहण प्रक्रिया शुरू गरिएको जनाएको हो ।

आयोजना अन्तर्गत बन्दीपुर गाउँपालिका–६ र देवघाट गाउँपालिका–३ साराङघाट नजिकै रहेको सेती नदीमा ३२ मिटर अग्लो बाँध निर्माण गरिनेछ ।

पानीको प्रवाहलाई देवघाट गाउँपालिका–३ र ४ हुँदै ६.८ किलोमिटर लामो सुरुङमार्फत् सेती नदीको सङ्गमदेखि करिब पाँच सय मिटर तल्लो तटीय क्षेत्रमा पर्ने देवघाटस्थित कालीगण्डकी नदीको दायाँ किनारमा बन्ने अर्ध भूमिगत विद्युतहमा खसाली विद्युत् उत्पादन गर्ने योजना छ ।

आयोजनाबाट बन्दीपुर गाउँपालिका–६, व्यास नगरपालिका–१३, १४, देवघाट गाउँपालिका–२, ३ र ४, ऋषिङ गाउँपालिका–१ र ३, आँबुखैरेनी गाउँपालिका–५ र ६, भरतपुर महानगरपालिका–२९ का केही भाग प्रभावित हुने देखिएको छ।

देवघाट गाउँपालिका–४ गाईघाटमा अर्धभूमिगत विद्युतगृह निर्माण गरी विद्युत् उत्पादन गरिनेछ । उत्पादित विद्युत तनहुँ जलविद्युत् आयोजनाले निर्माण गरेको २२० केभी दमौली–नयाँ भरतपुर प्रसारण लाइनमा जोडी राष्ट्रिय विद्युत् प्रणालीमा समाहित गरिनेछ । यसका लागि करिब दुई किलोमिटर प्रसारण लाइनको निर्माण गर्नुपर्छ ।

तल्लो सेती आयोजनाको करिब १२ किलोमिटर लामो जलाशय माथिल्लो तटीय क्षेत्र अर्थात् बाँधस्थलबाट सुडेँगाउँसम्म विस्तार हुनेछ । आयोजनाबाट वार्षिक रुपमा ५२ करोड युनिट विद्युत् उत्पादन हुनेछ । आयोजनाको अनुमानित लागत रु २५ अर्ब रहेको छ ।


Read Previous

कोरिया जान प्रतीक्षारत युवाको माइतीघरमा प्रदर्शन

Read Next

मध्यपूर्व तनाव कम, अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो, भारतमा बढ्दा नेपालमा असर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar