Nepal Purbadhar

इन्धन मूल्य बढेपछि अन्तरप्रदेश यातायातको भाडा फेरि महँगियो


काठमाडौं । यातायात व्यवस्था विभागले डिजेलको मूल्य बढेसँगै अन्तरप्रदेशमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनको भाडा पुनः समायोजन गरेको छ। नयाँ भाडादर बुधबारदेखि कार्यान्वयनमा आएको विभागले जनाएको छ।

विभागका अनुसार अन्तरप्रदेश यात्रुवाहक बस तथा अन्य सार्वजनिक सवारी, पहाडी क्षेत्रमा गुड्ने मालवाहक गाडी र तराई क्षेत्रमा सञ्चालन हुने मालवाहक सवारीको भाडा समान रूपमा ५ प्रतिशतले बढाइएको छ।

यसअघि पनि गत चैत २५ गते भाडा समायोजन गरिएको थियो। पछिल्लो निर्णयका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट वैशाख १२ गते स्वीकृति प्राप्त भएपछि विभागले नयाँ दर लागू गरेको हो।

हाल डिजेलको खुद्रा मूल्य प्रतिलिटर २३५ रुपैयाँ ८३ पैसा पुगेको छ। इन्धन खर्च बढ्दै गएपछि त्यसको प्रभाव सार्वजनिक यातायात भाडामा परेको विभागको भनाइ छ।

तर, विद्युतीय सवारीसाधनमा भने यो वृद्धि लागू नहुने स्पष्ट पारिएको छ। यदि कुनै विद्युतीय सवारीले अनधिकृत रूपमा भाडा बढाएको पाइए कानुनी कारबाही गरिने विभागले चेतावनी दिएको छ।


Read Previous

७ महिनादेखि निमित्तको भरमा विद्युत उत्पादन कम्पनी, कहिले होला सीईओ नियुक्ती ?

Read Next

चक्रपथ विस्तारको दोस्रो चरण विस्तारको सम्झौता , चीनबाट ११ अर्ब अनुदान

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar