
काठमाडौं । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बैशाख २३ गतेदेखि खुला गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई शेयर बाँडफाँट गरिसकेपछि अब सर्वसाधारणका लागि निष्काशन प्रक्रिया अघि बढाएको हो।
कम्पनीले जारी पूँजी १ अर्ब २० करोड रुपैयाँको ३५.२६ प्रतिशत बराबर ४२ लाख ३० हजार ६६८ कित्ता साधारण शेयर निष्काशन गर्न स्वीकृति पाएको थियो। यसअन्तर्गत १२ लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई र ३ लाख ३ हजार ६७ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई वितरण गरिसकिएको छ।
त्यसैगरी, १ लाख ५१ हजार ५३३ कित्ता शेयर सामूहिक लगानी कोषका लागि तथा ६० हजार ६१३ कित्ता शेयर कर्मचारीका लागि सुरक्षित गरिएको कम्पनीले जनाएको छ।
अब सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २५ लाख १५ हजार ४५५ कित्ता शेयर बिक्रीमा ल्याइनेछ। यो शेयरको कुल मूल्य २५ करोड १५ लाख ४५ हजार ५०० रुपैयाँ बराबर हुनेछ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। छिटोमा बैशाख २८ गतेसम्म आवेदन दिन सकिनेछ भने पूर्ण आवेदन नपरेमा जेठ ६ गतेसम्म अवधि लम्बिनेछ।
कम्पनीको आईपीओलाई केयर रेटिङ्स नेपालले ‘केयरएनपी डबल बी प्लस’ इस्यूअर रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन क्षमतामा मध्यमस्तरको जोखिम रहेको संकेत गर्छ।
कम्पनीले ८ मेगावाट क्षमताको टक्सार पिखुवा खोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ। आयोजनाको कुल लागत १ अर्ब ८८ करोड २१ लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २३ करोड ५३ लाख रुपैयाँ पुगेको छ। आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र अवधि अझै २५ वर्ष ४ महिना बाँकी रहेको जनाइएको छ।
कम्पनीका अनुसार आयोजनामा गरिएको लगानी साधारण आधारमा ९.१७ वर्षमा फिर्ता हुने अनुमान छ भने छुट दर (डिस्काउन्टेड) आधारमा १८.३७ वर्ष लाग्नेछ।
आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखाबाट सी–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।
