Nepal Purbadhar

१ खर्ब लगानीमा कर्णालीको ऊर्जा रूपान्तरण: ३२८ मेगावाटको भारबुङ जलाशययुक्त जलविद्युत आयोजना अगाडि बढ्दै

सांकेतिक तस्बिर


काठमाडौं । कर्णाली प्रदेशको दुर्गम डोल्पा जिल्लामा निर्माण प्रस्तावित ३२८.१० मेगावाट क्षमताको भारबुङ जलाशययुक्त जलविद्युत आयोजना ले नेपालको ऊर्जा क्षेत्रमा ठूलो फड्को मार्ने आधार तयार गरेको छ। आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (EIA) प्रतिवेदनले आयोजना वातावरणीय, सामाजिक र आर्थिक दृष्टिले कार्यान्वयनयोग्य रहेको निष्कर्ष निकालेसँगै परियोजना अघि बढ्ने बाटो खुलेको हो।

नेपाल सरकारअन्तर्गत विद्युत विकास विभाग प्रवर्द्धक रहेको यस आयोजनाको कुल अनुमानित लागत १ खर्ब ३ अर्ब ३१ करोड रुपैयाँभन्दा बढी रहेको छ। उक्त लागतमा आयोजना निर्माण, जग्गा प्राप्ति, वातावरणीय व्यवस्थापन, वृक्षारोपण तथा सामुदायिक सहयोग कार्यक्रमसमेत समेटिएको छ।

डोल्पाको छार्का ताङसोङ र काइके गाउँपालिकामा फैलिएको यस आयोजनाअन्तर्गत भारबुङ नदीमा ३२५ मेगावाटको जलाशययुक्त आयोजना र तातु खोलामा ३.१ मेगावाटको सहायक जलविद्युत आयोजना निर्माण गरिनेछ। आयोजना सम्पन्न भएपछि वार्षिक करिब ९१५.९३५ गिगावाट घण्टा विद्युत उत्पादन हुने अपेक्षा गरिएको छ, जसले हिउँदमा विद्युत आयात घटाउन र वर्षायाममा निर्यात बढाउन सहयोग गर्नेछ।

रोजगारी र स्थानीय विकासमा ठुलो योगदान

आयोजनाको निर्माण चरणमा करिब ५०० जनाले रोजगारी पाउनेछन् भने सञ्चालन चरणमा ६० जनालाई स्थायी रोजगारी सिर्जना हुनेछ। स्थानीय जनशक्तिलाई सीप र योग्यताका आधारमा प्राथमिकता दिइने प्रतिवेदनमा उल्लेख छ। यसले डोल्पा जस्तो दुर्गम क्षेत्रमा आर्थिक गतिविधि विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्नेछ।

सरकारले आयोजना सञ्चालनपछि रोयल्टी र करमार्फत उल्लेख्य राजस्व प्राप्त गर्नेछ। प्राप्त हुने आम्दानीको ठूलो हिस्सा प्रभावित क्षेत्रको पूर्वाधार, शिक्षा, स्वास्थ्य र सामाजिक विकासमा खर्च गर्न सकिनेछ।

वातावरणीय व्यवस्थापन र सामुदायिक लगानी

आयोजनाका लागि आवश्यक जग्गा प्राप्ति तथा वातावरणीय व्यवस्थापनमा ठूलो लगानी गरिएको छ। प्रतिवेदनअनुसार

जग्गा प्राप्तिको लागत करिब १ खर्ब ९५ करोड रुपैयाँ रहेको छ,

वातावरणीय व्यवस्थापन, अनुगमन र न्यूनिकरणका लागि करिब २ अर्ब ४४ करोड रुपैयाँ छुट्याइएको छ।

वन क्षेत्र प्रयोगको सट्टामा १:५ को अनुपातमा ३,९२५ बिरुवा रोपण, नदीमा न्यूनतम १० प्रतिशत वातावरणीय प्रवाह कायम राख्ने, धुलो–ध्वनि नियन्त्रण र फोहोर व्यवस्थापनजस्ता उपाय अपनाइनेछन्।

त्यसैगरी, आयोजनाले सामुदायिक सहयोग कार्यक्रमअन्तर्गत कुल लागतको ०.५ प्रतिशत, अर्थात् करिब ४६ करोड रुपैयाँ स्थानीय विकासका लागि खर्च गर्ने प्रस्ताव गरेको छ।

कर्णालीको समृद्धिको आधार

EIA प्रतिवेदनले भारबुङ जलाशययुक्त जलविद्युत आयोजना स्थानीय, प्रादेशिक र राष्ट्रिय तहमा सकारात्मक प्रभाव पार्ने रणनीतिक महत्वको आयोजना भएको निष्कर्ष निकालेको छ। ऊर्जा सुरक्षा, रोजगारी सिर्जना, आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनमार्फत यस आयोजनाले कर्णाली प्रदेशको आर्थिक रूपान्तरणमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।


Read Previous

पार्टीको घोषणापत्रमा ऊर्जालाई विशेष प्राथमिकता राख्न निजी क्षेत्रद्धारा माग

Read Next

लोडसेडिङ अन्त्यदेखि तेस्रो देशसम्म निर्यातः सफल ऊर्जा नीतिको परिणाम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar