Nepal Purbadhar

नयाँ निर्वाचित सांसदहरूको शपथका लागि निर्माणाधीन संसद् भवनमा बन्दैछ अस्थायी हल



काठमाडौं। प्रतिनिधिसभा निर्वाचनको मतगणना अन्तिम चरणतर्फ पुगेसँगै नयाँ निर्वाचित सांसदहरूको शपथ ग्रहण तथा संसद् अधिवेशनको तयारी सुरु भएको छ।

संवैधानिक व्यवस्था अनुसार निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको ३० दिनभित्र संसद्को अधिवेशन आह्वान गर्नुपर्ने प्रावधान रहेको छ। तर आगामी संसद्का लागि बैठक तथा शपथ ग्रहण कार्यक्रम सञ्चालन गर्ने स्थायी हल भने अझै पूर्ण रूपमा तयार भइसकेको छैन।


अधिवेशनअघि सांसदहरूको शपथ ग्रहण कार्यक्रम आयोजना गरिनेछ। सो क्रममा सबैभन्दा जेष्ठ सदस्यले सबैभन्दा पहिले सम्माननीय राष्ट्रपतिबाट शपथ लिनेछन् र त्यसपछि उहाँले अन्य सांसदहरूलाई शपथ गराउने व्यवस्था रहेको छ।


हाल संसद् बैठक बस्ने स्थायी भवन उपलब्ध छैन। “जेनजी (Gen Z)” आन्दोलनका क्रममा संसद् भवनमा आगलागी भएपछि नियमित बैठक सञ्चालनका लागि वैकल्पिक स्थानको व्यवस्था गर्नुपर्ने अवस्था आएको हो। यसको विकल्पका रूपमा सिंहदरबार परिसरभित्र निर्माणाधीन नयाँ संसद् भवनभित्रको बहुउद्देश्यीय हल (Multipurpose Hall) लाई अस्थायी रूपमा व्यवस्थापन गर्ने तयारी भइरहेको छ।

उक्त हलको निर्माण अन्तिम चरणमा पुगेको र केही हप्ताभित्रै सम्पन्न हुने अपेक्षा गरिएको संघीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले जानकारी दिनुभयो।


यसैबीच संघीय संसद् सचिवालयले नयाँ निर्वाचित सांसदहरूको क्षमता अभिवृद्धिका लागि दुई दिनको अभिमुखीकरण (Orientation) कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ।

प्रवक्ता गिरीका अनुसार कार्यक्रममा मुख्यतः कानुन निर्माण प्रक्रिया, संसद्मा प्रश्न कसरी उठाउने लगायतका व्यवहारिक विषयहरूमा केन्द्रित भएर प्रशिक्षण दिइनेछ।
शब्द / तस्बिर : नेपाल फोटो लाइब्रेरी
भिडियो :: नेपाल फोटो लाइब्रेरी


Read Previous

ऊर्जा विकासबाट समृद्ध नेपाल बनाउने सुनौलो अवसर, बलियो सरकारबाट ठूलो अपेक्षा छ : सभापति पन्त

Read Next

यस्तो बन्दै छ अन्तर्राष्ट्रिय खेलकुद परिसरमा जेन जी शहीद स्मारक पार्क

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar