
काठमाडौ । झापा निर्वाचन क्षेत्र- ५ अन्तर्गत दमक–९ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आयोजनामा सोमबार बिहान सम्पन्न मतदाता भेटघाट तथा घरदैलो कार्यक्रममा उल्लेख्य जनसहभागिता देखिएको छ। माघ १२ गते बिहान ८ बजेदेखि सुरु भएको उक्त कार्यक्रम ११ बजेसम्म सञ्चालन गरिएको थियो।
दमक–९ स्थित उराव बस्तीबाट सुरु भएको घरदैलो कार्यक्रम पाणिनि स्कुल हुँदै देवसिंह टोल, नौभाइ चोक र बुद्ध चोक पार गर्दै पुनः उराव बस्तीमै पुगेर समापन गरिएको थियो।

कार्यक्रमका क्रममा रास्वपाका नेताहरूले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूका समस्या, गुनासा तथा सुझावहरू सुनेका थिए। जनताबाट प्राप्त सक्रिय सहभागिता र सकारात्मक प्रतिक्रियाले अभियानप्रति थप उत्साह मिलेको पार्टीले जनाएको छ।
उक्त घरदैलो कार्यक्रम रास्वपाका नेताहरू तथा चुनाव प्रचार–प्रसार सचिवालयको नेतृत्वमा सम्पन्न भएको हो।
यसैबीच, रास्वपाले आज दिउँसो पनि झापा–५ मा अर्को मतदाता भेटघाट तथा घरदैलो कार्यक्रम तय गरेको छ। दिउँसोको कार्यक्रम सोमबार दिउँसो ३ बजेदेखि कमल गाउँपालिका वडा नं. ५ स्थित पाडाजुगी चोकबाट सुरु हुनेछ।

कार्यक्रम पाडाजुगी चोकबाट उत्तरतर्फ गुहेश्वरी टोल, टुक्रे र शसस्त्र चेकपोष्ट हुँदै दक्षिणतर्फ पाथीभरा टोल र अम्विका चोक पार गर्दै मंगलबारे बजारमा पुगेर समापन गरिने छ। उक्त कार्यक्रम पनि रास्वपाका नेताहरू तथा चुनाव प्रचार–प्रसार सचिवालयको नेतृत्वमा सञ्चालन हुने जनाइएको छ।
